बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने

काठमाण्डु टुडे २०८२ चैत १ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल जारी छ ।

रास्वपाका प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको जानकारी दिएका छन ।

आज (आइतबार) बसेको रास्वपाको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले यसबारे जानकारी गराएका हुन । रास्वपा प्रवक्ता झाले भने, ‘रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ, ‘आन्तरिक र अनौपचारिक रूपमा हामीले त्यसबारेमा छलफल गरिरहेका छौँ ।’

दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ ।

‘यो विषय प्रक्रियागत रूपमा अघि बढाउन केही नेताहरूको उपस्थितिको प्रतीक्षामा रहेको हुनाले र नेताहरू स्वास्थ्य अवस्थाका कारण पर्खनुपर्ने भएकाले कुरिरहेका छौँ’, झाले भने, ‘सहमतिमा हामी जिम्मेवार छौ र प्रतिबद्धता बिर्सेका छैनौ, जसले केही तलमाथि होला कि भन्ने आशङ्का नहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us