एमाले नेतृत्वले नैतिक आधार गुमाइसक्योः पाण्डे

काठमाण्डु टुडे २०८२ फागुन ३० गते २०:४० मा प्रकाशित

काठमाण्डू, ३० फागुन- एमाले नेता सुरेन्द्र पाण्डेले एमाले नेतृत्वसँग नैतिक आधार नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार पाण्डेले निर्वाचनमा भएको पराजयसँगै नेतृत्वसँग नैतिक आधार बाँकी नरहेको बताएका हुन् । मतपत्रमार्फत जनताले

अस्वीकार गरिसकेपछि सत्य बोलेका आधारमा कार्यकर्तामाथि धम्की दिनु बुद्धिमानी नहुने उनले उल्लेख गरे । यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग बाँकी नरहेको उनको भनाइ छ ।

‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला ?,’ पाण्डेले लेखेका छन्, ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’

एमालेको संरचना र कार्यशैली रिसेट गर्नुपर्नेमा जोड दिँदै पाण्डेले यस्तो गम्भीर मोडमा पनि ठीक हुँदाहुँदै फसाइयो वा अन्तर्घात भयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु र जनताको अपमान गर्नु भएको तर्क उनले गरे । ५ १० हजार मतसम्म अन्तर्घात हुन सक्ने भए पनि ४० ५० हजारको मतान्तरमा पराजित हुनुलाई फसाइएको भन्न नमिल्ने तर्क उनको छ । पाण्डेले एमालेको सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको बताए । अब पनि तरिका नबदल्ने र अरु असफल भए आफ्नो पालो आउला भन्ने सोचमा अल्झिए पार्टी र देश दुवैका लागि घातक हुने चेतावनी पाण्डेले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us