शंकर पोखरेलले फेसबुकबाट फर्काए योगेश भट्टराईलाई जवाफ

काठमाण्डु टुडे २०८२ फागुन ३० गते १०:५५ मा प्रकाशित

काठमाण्डू, ३० फागुन– एमाले महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काएका छन् ।

भट्टराईले गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा जिम्मेवारी माग्दा नपाएको अभिव्यक्ति दिएपछि पोखरेलले शनिबार त्यसको प्रतिवाद गरेका हुन् ।

पोखरेलले आफूले भट्टराईलाइ वक्ताका रुपमा माग भएका ठाउँमा गइदिन भनेको उल्लेख गरेका छन् ।

आफूले मिलेसम्म दाङ आउन भनेको तर, भट्टराईले गृहजिल्ला ताप्लेजुङ जानुपर्ने जवाफ दिएको उनको भनाइ छ । दाङ–२ मा उम्मेदवार रहेका पोखरेल रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग भारी मतान्तरले पराजित भएका थिए ।

‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ । तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ’ पोखरेलले लेखेका छन्, ‘अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ । त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो । मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ । तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us