काठमाण्डू, २९ फागुन– पछिल्लो केही दिनयता काठमाण्डू उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्ने क्रम जारी छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।
बिहीबार मध्याह्नसम्म काठमाण्डू विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको जानकारी दिए ।
उनले भने, ‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ, दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ ।’
वातावरणविद् भुषण तुलाधरले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिएका छन ।