इनिसा हत्या प्रकरण: माइतीघरमा न्याय माग गर्दै प्रदर्शन

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १४:४५ मा प्रकाशित

 काठमाण्डू, २८ फागुन– बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज (बिहिबार) पनि काठमाण्डूको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् । उक्त घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ ।

सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिएका छन । प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।

मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us