निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा

काठमाण्डु टुडे २०८२ फागुन २८ गते १३:३२ मा प्रकाशित

 काठमाण्डू, २८ फागुन– निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो ।

कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ । यससँगै आयोगले १६५ क्षेत्रकै मतपरिणामसहित विजेता घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us