काठमाण्डू, २७ फागुन– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सम्मपन्न भएको छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सङ्खुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ ।
प्रत्यक्षतर्फ नजिते पनिसमानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । बुधबार बिहान घोषित समानुपातकितर्फको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत पाएको हो ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ जितेको एमाले दोस्रो भएको छ । १ लाख २१ हजार २७ मतदाता रहेको सङ्खुवासभामा समानुपातकितर्फ ६३ हजार ४ सय २ मत खसेको थियो । अन्तिम मत परिणाममा रास्वपाले समानुपातिकतर्फ १५ हजार ३ सय ४३ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्ययक्षतर्फ १५ हजार मत प्राप्त गरेको थियो । २०७९ सालको निर्वाचनमा रास्वपा यस जिल्लामा चौथो स्थानमा रहेको थियो ।
तर, यसपटकको निर्वाचनमा उल्लेख्य मतसहित पहिलो स्थानमा उक्लिंदै जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ । त्यस्तैगरी नेकपा एमाले १३ हजार ९ सय १४,नेपाली कांग्रेसले १२ हजार १ सय ६४,श्रम संस्कृति पार्टीले १२ हजार ३९ मत र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले २ हजार ६ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
प्रत्यक्षतर्फ देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा अन्तिममा सङ्खुवासभाको मतगणनाको नतिजा सोमबार राति मात्र आएको थियो ।