समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १३:४० मा प्रकाशित

काठमाण्डू, २७ फागुन– निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ ।

समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा आयोग जुटेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन ।

दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यस आधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।

‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्दसूचीमा रहेका नामबाट नाम सिफारिस गर्न पत्र लेखिनेछ ।’ दलहरूलाई नाम सिफारिस गर्नका लागि तीन दिनको समय दिने तयारी छ ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनस् हेर्छ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us