रास्वपालाई झण्डै दुई तिहाइको जनादेश

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १३:३० मा प्रकाशित

काठमाण्डू, २७ फागुन– प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित निश्चित भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ । निर्वाचन आयोगले सिट निर्धारण भने गरिसकेको छैन । आयोगले निर्धारण गरेपछि मात्र त्यसको यकिन संख्या आउँछ ।

तर आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ’सेन्ट लग फर्मुला’ मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा ५७ सिट पुग्ने देखिन्छ ।

यदि आयोगले यही सिट संख्या कायम गर्‍यो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइका लागि २ सिट पुग्दैन । यदि समानुपातिकमा उसलाई ५७ सिट भाग लागेको अवस्थामा रास्वपाको १८२ सिट हुन्छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ । एक स्वतन्त्र सांसद महाविर पुन भने रास्वपाकै समर्थनसमेत पाएर निर्वाचित भएका छन् ।

रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ ।

यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो । समानुपातिक अन्तर्गतबाट सिट पाउने ६ वटा पार्टी हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us