धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी

काठमाण्डु टुडे २०८२ फागुन २७ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन । तीनवटा बसमा आंशिक क्षति भएको समेत उनले बताएका छन । उनका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ । को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको उनले जानकारी दिएका छन डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन । बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ उनले भने, ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन ।

थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us