काठमाण्डू, २६ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उत्तर छिमेकी भारतसँगको सम्बन्ध आगामी दिनमा अझ सुदृढ र परिणामुखी बनाइने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह र रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी निर्वाचनमा विजयी भएकामा बधाई दिएको भन्दै फेसबुकमा गरेको पोष्टमा कमेन्ट गर्दै बालेनले यस्तो बताएका हुन् ।
‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ शाहले भनेका छन् ।
उनले लगातार दुईपटक विश्वकप उपाधि जित्न सफल भएकामा समेत भारत सरकार र भारतीय जनतालाई बधाई ज्ञापन गरेका छन् ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले करिब दुई तिहाई बहुमत हासिल गरेकामा सोमबार साँझ मोदीले शाह र लामिछानेलाई टेलिफोन गरी बधाई दिएका थिए । मोदीले नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता जनाएको उल्लेख गरेका थिए ।