सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– प्रहरीले सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरीएको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो ।

इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगतै उनलाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी कक्षा ११ मा अध्ययनरत रहेकी थिइन । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन ।

डिएसपी थापाका अनुसार सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us