काठमाण्डू, २६ फागुन– देशको संघीय राजधानी काठमाण्डूमा पछिल्ला दिनमा वायु प्रदूषण बढ्ने क्रम जारी । दिउँसो १ बजेको मापन अनुसार काठमाण्डू विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा परेको छ ।
पछिल्लो समयमा काठमाण्डू उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ । वातावरण विभागका अनुसार काठमाण्डूको प्रदूषण निकै अस्वस्थकर तहमा रहेको छ ।
वातावरण धुम्म रहने, हावाको बहाव राम्रोसँग नचल्दा प्रदूषित हावा बाहिरिन पाएको छैन । पछिल्लो एक सातादेखि उपत्यकाको वायु प्रदूषण बढेको देखिन्छ । मंगलबार १ बजेको मापन अनुसार काठमाण्डूको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।
यस्तै उपत्यकामा सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ । दिउँसो १ बजेको मापन अनुसार लाजिम्पाटको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२६ देखिएको छ ।
त्यस्तै रानीबारी मापन केन्द्रका अनुसार सो क्षेत्रको एयर क्वालिटी इन्डेक्स १९६ छ । क्षेत्रपाटीको एयर क्वालिटी इन्डेक्स १८८ छ ।
उपत्यका बाहिर मध्यपश्चिमको वीरेन्द्रनगरमा सबैभन्दा बढी वायु प्रदूषण देखिएको छ । सो स्थानमा एयर क्वालिटी इन्डेक्स २३२ छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रको धनगढीमा एयर क्वालिटी इन्डेक्स २०९ देखिएको छ ।