जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँः कुलमान घिसिङ

काठमाण्डु टुडे २०८२ फागुन २६ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको बताएका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन ।

उनले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका छन् । उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने समेत बताएका छन ।

घिसिङले लामो स्टाटस लेख्दै देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना गरेका छन् । एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकेको उनको भनाइ छ ।

‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो, घिसिङले लेखेका छन्, यही कारण बजेट खर्च हुन सकेको छैन र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ ।’

काम र परिणाम दिने प्रतिबद्धतासहित आफ्नो पार्टी चुनावमा होमिएको उल्लेख गर्दै उनले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त पनि प्रस्तुत गरेका छन् ।

१८ घण्टा लामो लोडसेडिङको अन्त्य, ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण र नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाएको स्मरण गर्दै उनले भनेका छन्, ‘हामीले लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ ।’

यसका साथै, विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाएको, मेलम्ची खानेपानी सुचारु गरेको, तातोपानी नाका खुलाएको र अलपत्र आयोजनाका ठेक्का तोडेको जस्ता उपलब्धि उनले दाबी गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us