प्रदूषणले धुम्मियो काठमाण्डू

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– काठमाण्डू उपत्यकाको वातावरण पछिल्ला दुई–तीन दिनयता धुम्म रहेको छ । उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।

बेलाबेला केही ठाउँमा सिमसिमे वर्षा पनि हुन्छ, अन्य ठाउँमा पानी पर्लापर्ला जस्तो पनि देखिन्छ । तर, ठुलो वर्षा भने हुन सकेको छैन ।यसले जनजीवनलाई आंशिक प्रभाव पारिरहेको छ ।

दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महसुस गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको यस्तो वातावरण हुनुका पछाडि प्रदूषण र मौसम गरी दुई कारण छन् ।

मौसमविद् रोजन लामिछानेले उपत्यकामा प्रदूषणको मात्रा अत्यधिक बढेकाले वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ ।

उनले लामो समयदेखि वर्षा नहुनु, देशका विभिन्न भागको डढेलो, सवारीसाधनलगायतले उत्पन्न गरेको धुलोधुवाँ उपत्यकामा प्रवेश गरेर अड्किएर बस्नुले प्रदूषणको मात्रा बढेको जानकारी दिए ।

‘यहाँ प्रदूषण अड्किएर बसिरहेको अवस्था छ । त्यसलाई हटाउन कि प्रशस्त पानी पर्नुपर्छ, कि ठुलो हावा लागेर उडाएर लैजानुपर्छ,’ उनले भने, ‘हालसम्म यहाँ न पर्याप्त पानी परेको छ, न ठुलो गतिको हावा नै लागेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us