काठमाण्डू, ११ फागुन– एमालेले बनाएको नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन ।
आज (सोमबार) झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘यो सरकारलाई चुनौती दिन चाहन्छौं, हाम्रो झण्डा श्रमजिवी वर्गको झण्डा हो ।
हाम्रो झण्डा आस्थाको झण्डा हो । यसलाई जलाउने र तोड्ने काम भयो भने अझै पनि सच्चिएन भने यो देशमा सारा युवा, भोलिन्टियर शक्ति परिचालित भएर तपाईंहरूलाई पनि चुनाव प्रचारका हरेक ठाउँमा रोक लगाउनेछौं ।’
उनले वर्तमान सरकार र प्रहरी प्रशासनले साना साना विषयमा पनि सुरक्षा दिन नसकेको भन्दै ध्यानाकर्षण गराएका छन । उनले भने, ‘हरेक ठाउँमा सानो सानो कुरामा पनि सुरक्षा दिन सकेको छैन ।
हाम्रो अस्ति भर्खरै पार्टीको झण्डा जलाउने काम भयो, त्यसमा पनि यो प्रहरी प्रशासन र सरकार निरीह भएर बसेको हामीले देखेका छौं ।’