उपेन्द्र यादवको प्रश्नः मधेस आन्दोलनमा बालेन कहाँ थिए ?

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका छन ।

आज (सोमबार) रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि रगत बगाइरहेका बेला बालेन कता थिए भन्दै प्रश्न समेत गरेका छन ।

मधेसका आधारभूत र मूल मुद्दाहरूमा बालेनको कुनै स्पष्ट धारणा वा योगदान नभएको टिप्पणी गर्दै उनले केवल चर्चाका भरमा राजनीति नचल्ने समेत बताए ।

अध्यक्ष यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूको चर्चा बढी देखिए पनि जमिनमा उनीहरूको कुनै प्रभाव नरहेको बताए ।

मधेसका जनताले आफ्नो अधिकारका लागि कसले लड्यो र कसले अवसरवादको राजनीति गर्‍यो भन्ने कुरा राम्रोसँग बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने चेतावनी दिए ।

मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने शक्ति जसपा मात्रै भएको जिकिर गर्दै उनले नयाँ शक्तिहरूलाई ग्राउन्ड रियालिटी बुझ्न सुझाव दिएका छन । उनले मुलुकको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोख्दै यादवले विगत ३५ वर्षदेखि पालैपालो सत्तामा रहेका कांग्रेस र कम्युनिस्ट सरकारहरूले देशको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बर्बाद पारेको आरोप समेत लगाएका छन ।

उनले प्रमुख दलहरू विकास र सुशासनभन्दा पनि एक–अर्काको पार्टी फुटाउने फोहोरी खेलमा व्यस्त रहेको उनको टिप्पणी थियो ।

वर्तमान संविधानका त्रुटिहरू समयक्रममा प्रमाणित भइसकेकाले अब संविधान संशोधनको विकल्प नरहेको र उत्पीडित समुदायको समस्या समाधान नगरी राष्ट्रिय एकता सम्भव नहुने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us