पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाण्डु टुडे २०८२ फागुन ११ गते १४:११ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो । जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को पेसी तोक्नेछ ।

गुणस्तरहीन पुल बनाएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएपछि सो फैसला उपर हरिनारायण रौनियारसहित ८ जना फरक–फरक मितिमा पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए । यस्तै, विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

दुवै पक्षको पुनरावेदनलाई एक साथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको हो । पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार (पप्पु) लाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us