काठमाण्डू, १० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओलीले देश बचाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताएकी छन । आज (आइतबार) झापा– ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई आर्थिक संकट र भ्रष्टाचारतर्फ धकेलेको आरोप समेत लगाएकी छन । ओलीले प्रमुख दलहरू एमाले, कांग्रेस र माओवादीले वर्षौंदेखि गरिब तथा सुकुम्बासीलाई लालपुर्जा दिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको समेत बताएकी छन ।
चुनावका बेला मात्र जनताको घरदैलोमा पुग्ने तर जितेपछि समस्या बिर्सिने प्रवृत्ति रहेको उनको आरोप थियो। पटक–पटक सरकारको नेतृत्व गरेका शक्तिशाली मन्त्री र प्रधानमन्त्रीहरूले समेत यस क्षेत्रका नागरिकलाई लालपुर्जा दिन नसकेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरेकी छन ।
उनले आफूहरू निर्वाचित भए सदनमा जनताको आवाज उठाउने र आवश्यक परे लालपुर्जा प्राप्तिका लागि सडक संघर्षसमेत गर्ने चेतावनी दिइन् । पुराना दलहरूको ‘भ्रमको खेती’ अब अन्त्य हुनुपर्ने र मतदाताले इमान्दार राजनीतिको पक्ष लिनुपर्ने उनले बताइन् ।
वर्तमान गणतन्त्रात्मक व्यवस्थाप्रति आलोचना गर्दै ओलीले राजसंस्था हुँदा देशमा उद्योगधन्दा सञ्चालनमा रहेको तर गणतन्त्रपछि ती बन्द भएको जिकिर गरिन् ।
अहिलेका राष्ट्रपति र गणतन्त्रका संरचना सञ्चालन खर्च राजदरबारको भन्दा धेरै भएको तथा देश ठूलो ऋणमा फसेको दाबीसमेत उनले प्रस्तुत गरिन्। देश संकटमा पर्दा वर्तमान नेताहरू जिम्मेवारी वहन गर्न नसक्ने आरोप लगाउँदै उनले राजसंस्थालाई स्थायी अभिभावकका रूपमा प्रस्तुत गरिन् ।