काठमाण्डू, १० फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेसको बलियो उपस्थिति र खबरदारीमा मात्रै रहने बताएका छन ।
सङ्घीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको उनले बताएका छन ।
आज (आइतबार) सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले मतदातालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । अध्यक्ष यादवले भने, ‘सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ, ‘तर मधेस जागरूक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।’
सप्तरी– ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले सङ्घीयता माथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्तिहरू सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले भने, ‘मुलुकमा सङ्घीयता धानिएकै मधेस प्रदेशको दृढ अडानको कारणले हो । मधेसले आवाज उठाएन भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ ।
अधिकारको रक्षा गर्न मधेस सधैँ अग्रपंक्तिमा उभिएको छ ।’ मधेसको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः सङ्घीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट गरे ।
‘मधेस कमजोर भयो भने सङ्घीयता रहँदैन । त्यसैले मधेसलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो,’ उनले जोड दिए ।