गौरको तनाव रोक्न २३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन १० गते १३:४४ मा प्रकाशित

काठमाण्डू, १० फागुन– प्रहरीले गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ ।साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन ।

नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन । तनावका कारण शनिबार दिउँसो १ बजेबाट शुरु भएको कर्फ्यु प्रशासनले अझै जारी राखेको छ ।

बिहीबार साँझ दुई पक्षबीचको विवादबाट शुरु भएको झगडाका कारण गौर तनावग्रस्त बनेको थियो । अवस्था संवेदनशील रहेकाले गौर नगरक्षेत्रमा आठ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि परिचालन समेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us