ओलीको आरोपः रास्वपाले चुनाव नजित्ने देखेपछि अभद्र व्यवहारबाट तनाव बढाउन खोज्यो

काठमाण्डु टुडे २०८२ फागुन ९ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् ।

आज (शनिबार) झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको पनि बताएका छन । अध्यक्ष ओलीले भने,‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ ।

त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ ।’

रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान यतिकै गर्न सकिने ओलीको दाबी छ ।‘त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ ।

यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ,’ ओलीले भने ।

साथै, उनले चुनाव बलजफ्ती हुने विषष नभएको पनि बताए । मतदाताले निर्भय रुपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने ओलीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us