काठमाण्डू, ९ फागुन– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको समेत बताएका छन ।
आज (शनिबार) बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उनले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने पनि बताएका छन । राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको उनले बताएका छन ।
गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने उनले बताए। भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए ।
निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने र सुशासन नहुने चेतावनी उनले दिए । उनले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए ।
मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे। भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र संकटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको पनि बताएका छन ।