काठमाण्डू ४ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप मद्दत परिचालन गर्ने भएको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन । करिब १३ हजार प्रहरीलाई थप मद्दतको रूपमा परिचालन गर्न लागिएको ति अधिकृतले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई परिचालन गरिसकेको छ । थप १ सय जना डीएसपी र चार सय इन्स्पेक्टर परिचालन गर्नेगरी प्रहरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ । पहिलो चरणमा खटिएका अधिकृतहरू सोमबार फिल्डमा पुगेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा खटिएका अधिकृतहरू फिल्डमा पुगिसकेका छन् ।’
थप मद्दतको रूपमा खटिने प्रहरी अधिकृतहरू उपत्यका प्रहरी कार्यालय मातहतका गण, गुल्महरू र प्रहरी प्रधान कार्यालयबाट पठाइने छन् । अतिसंवेदनशील मतदान स्थल धेरै भएका मधेसका जिल्ला र लुम्बिनी प्रदेशका जिल्लामा धेरै प्रहरी खटिने छन् । झापादेखि कैलालीसम्म तराईका जिल्लाहरूलाई प्रहरीले निर्वाचन सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानेको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै अति संवेदनशील मतदानस्थल छन् ।
मधेस प्रदेशका ८ जिल्लाका १२ सय ४६ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । लुम्बिनीमा ४६२ र सुदूरपश्चिममा ४८१ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । कोशी प्रदेशमा ४३९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।
बागमती प्रदेशका १० जिल्लामा ३५४ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । गण्डकी प्रदेशमा ३२८ वटा र कर्णाली प्रदेशका ३५८ मतदान स्थल मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन हुनेछन् ।
प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गर्नेछ । निर्वाचन सुरक्षामा उपलब्ध फौजलाई परिचालन गरिने डीआईजी काफ्लेले जानकारी दिए ।