कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

काठमाण्डु टुडे २०८३ साउन १२ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, १२ साउन– कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण १५–१७ साउनसम्म प्रशिक्षण सञ्चालन हुने छ ।

प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने बताइएको छ । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ ।

प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्ने दुलालले जानकारी दिएका छन । प्रशिक्षणमार्फत विपद्मा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाबमोजिम अघि बढ्ने योजनन बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us