सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

काठमाण्डु टुडे २०८३ साउन १२ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, १२ साउन– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी साउन १४ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन ।

सिंहदरबारस्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागि रहेका छन ।

बैठकमा मुख्य गरी साउन १४ गतेका लागि तय भएको संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, सम्भावित कार्यसूची र सदनलाई कसरी मर्यादित एवं नतिजामुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको सभामुख अर्यालको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारको सिफारिसमा आगामी साउन १४ गते प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहँदा सभामुख अर्यालले सदनको विजनेस र कार्यव्यवस्थाका सम्बन्धमा दलहरूबीच सहमति जुटाउन यो पहल थालेका हुन् ।

बैठकमा विचाराधीन रहेका विधेयकहरूलाई अगाडि बढाउने, शून्य तथा विशेष समयमा उठ्ने जनसरोकारका मुद्दाहरू र संसदीय प्रक्रियालाई चुस्त बनाउने विषयमा सभामुखले दलहरूको राय माग्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us