कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्छः उपसभापति शर्मा

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १५:३६ मा प्रकाशित

काठमाण्डू ४ फागुन– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन ।

आज (सोमबार) लम्जुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काउने पनि बताएका छन ।

उपसभापति शर्माले अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन नपाउने उनको भनाइ छ । उनले चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्नुपर्ने भन्दै उपसभापति शर्माले स्वस्थ आलोचना स्वभाविक हुने, तर अरूलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने पनि बताएका छन ।

चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य भाषण र घोषणापत्रहरू मार्फत नगर्न उनको आग्रह समेत गरेका छन ।

उनले भने, ‘देशको शासनमा जे–जस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौं हामीले । जेनजी विद्रोहको भावना बमोजिमको त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौं । देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ । जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us