काठमाण्डू ४ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन ।
आज (सोमबार) झापा–५ मा चुनावी घरदैलोको क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । झापा–५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको पनि बताए । उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा विकास गर्ने सोच अनुसार अगाडि बढाएको उनले बताए । तर नबुझ्ने मान्छेहरूले यो किन चाहियो भनेर विरोध गर्ने गरेको ओलीले बताए ।
उनले भने, ‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं ।
त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’ उनले अगाडि भने, ‘भविष्यमा दमक चिनिने भनेको यही टावरको कारण हो । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’