अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी) को आपत्ति

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १२:०९ मा प्रकाशित

काठमाण्डू ४ फागुन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाण्डूको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध जनाएको छ ।

महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको बताइएको छ ।

यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरीएको छ । पार्टीले विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य भएकोमा पनि जोड दिएको छ।

आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समेत टुँडिखेलको दृश्यबारे ‘विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका थिए ।

विवादबारे सेनाले भने विदेशी सेनाको प्रस्तुति सैनिक कूटनीति र सम्बन्ध विस्तारको परम्परागत अभ्यास भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us