काठमाण्डू विमानस्थलको अनुभव सुखद् छैन, २ महिनाभित्र परिवर्तन गर्नुस्ः पर्यटनमन्त्री सिन्हा

काठमाण्डु टुडे २०८२ पुष १६ गते ११:५३ मा प्रकाशित

काठमाण्डू, १६ पुस– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाण्डू विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको बताएका छन । उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन निर्देशन समेत दिएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा कस्मेटिक सुधार भए पनि सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद नभएको बताएका छन । मन्त्री सिन्हाले भने, ‘काठमाण्डू विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन, कस्मेटिक सुधार भयो होला, सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद छैन ।’

उनले असहज अनुभूति आफैंले भोगेको भन्दै ससाना कुरालाई सम्बोधन गर्न चुकेको टिप्पणी गरे । विमानस्थलमा परिवर्तन र सुधार जरुरी रहेको भन्दै उनले हवाई सुरक्षामा समेत दत्तचित्त भएर काम गर्न निर्देशन दिए ।

अब आफूसँग मन्त्रीका रुपमा धेरै समय नरहेको बताउँदै उनले भने, ‘यो अवधिमा अब कुनै दबाबविना काम गर्नुस, बाहना नबनाउनुस्, तपाईंलाई चुनौती भयो, दुई महिनामा एभियसन सेफ्टीमा, यो दुई महिना काफी छ, म काम चाहन्छु, तपाईं खटिनुस् ।’

‘दुई महिनामा केके गरेर देखाइदिन सक्नुहुन्छ, निर्वाचन पछि आउने नयाँ सरकारलाई काम थालेर देखाइदिनुस्,’ मन्त्री सिन्हाले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणको लेखा र सम्पत्ति सुरक्षामा पनि पनि उनले सार्वजनिक असन्तुष्टि जनाए । कालो सूची र नयाँ विमानस्थल नियमित चल्ने योजना प्राप्त गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us