आजदेखि दसैंका लागि सुपथ मूल्य पसल

काठमाण्डु टुडे २०७१ असोज १ गते २:३१ मा प्रकाशित

काठमाण्डु, १ असोज– चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि उपत्यकासहित देशभरका ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।
सरकारले दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई यस पसलमार्फत छुट दिने घोषणा गरेको छ ।
चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ र चिनीमा पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ ।
वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक सुवेदीका अनुसार नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडले यस्तो पसल सञ्चालन गर्दै छ ।

साल्ट ट्रेडिङले काठमाण्डुको कोटेश्वर, टेकु, रामशाहपथ, बल्खु तरकारी बजार, सतुंगल, कालिमाटीका दुई स्थानमा, पाटनको विशालबजार र उद्योग वाणिज्य संघ भक्तपुर परिसरमा पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसैगरी खाद्य संस्थानलाई प्रधान कार्यालय टेकु, रामशाहपथ, जाउलाखेल चोक, बल्खु तरकारी बजार, कोटेश्वर र भक्त पुरमा सहुलियत पसल सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ । यस्ता पसलबाट एकजनाले एक बोरा चामल, ६ किलो चिनी र तीन प्याकेट नुन सुलभ दरमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडलाई भने मेसिनरी र घरायसी सामग्री छुटमा उपलब्ध गराउने जिम्मेवारी दिएको छ । चाडपर्वकै अवसरमा दूग्ध विकास संस्थान ‘डिडिसी’ले लैनचौरस्थित केन्द्रीय कार्यालय र रामशाहपथमा पसल राखेर विभिन्न दूग्धजन्य पदार्थमा छुट दिने घोषणा गरेको छ । प्रतिकिलो घ्यूमा १० रुपैयाँ छुट दिइने डीडीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us