काठमाण्डू, १ भदौ– सत्ता घटक दल एमालेको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनअनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुने भएका छन ।
०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकका हैसियतमा रहनेछन् । प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिने भएको छ ।
महाधिवेशनलाई भब्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने शनिबारको बैठकबाट निर्णय भएको छ । बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने छ । महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ ।
स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैंले गर्नुपर्ने निर्णय छ । सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरुले गर्नेछन् ।
महाधिवेशनस्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ । एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरुले सुझाव पठाएपछि तिनीहरुलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार हुनेछ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले पेस गर्नेछन् । एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ ।