काठमाडौं-अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ शेर्पालाई नियन्त्रणमा लिएको हो ।
सिआइबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीसँग सम्बन्धित ८ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना भएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न तरिकाबाट व्यक्तिगत लाभ लिँदै संस्थालाई आर्थिक नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै, विद्यालयलाई अनुचित हानि पुग्ने उद्देश्यले भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्व रहेको कम्पनीमा बिक्री गरेको आरोपसमेत उनीमाथि लागेको सिआइबीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।