काठमाण्डू, १ भदौ– भारतीय विदेश सचिव विक्रम मिश्री काठमाण्डू आइपुगेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्ता बोकेर आइतबार काठमाण्डू आएका हुन् ।
मिश्रीले समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राई, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतलाई भेट्ने कार्यक्रम छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेश सचिव मिस्री आइतबार नेपाल आउन लागेको जानकारी दिएको हो ।
प्रधानमन्त्री ओली आगामी भदौ तेश्रो साता भारत भ्रमणमा जाँदैछन् । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सहयोगमा आधारित सुमधुर सम्बन्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतले आफ्नो ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै आएको मन्त्रालयको भनाइ छ ।
सचिव मिस्रीको नेपाल भ्रमणले दुई देशबीचको उच्चस्तरीय सम्पर्क र संवादलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।