रौतहतमा स्थानीयद्वारा मेयरमाथि आक्रमण, टाउकामा लगाइयो १७ टाँका

काठमाण्डु टुडे २०८२ भदौ १ गते ९:०६ मा प्रकाशित

रौतहट, १ भदौ–रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन् ।

शनिबार दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँचजना घाइते भएका हुन् ।

झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिए। उनका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

 घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाहीगोनाही–९ का अन्दाजी ३५–४० वर्षीय राधामोहन साह, अन्दाजी ३५–४० वर्षीय विनोद साह र अन्दाजी २१–२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गरे ।

नगरप्रमुख कानु पक्षले उनीबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो। उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us