काठमाण्डू, ३१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब कारागारमा कृष्णहरू नजन्मिने र जन्मिएकैहरूले कृष्ण बन्नुपर्ने बताएका छन् ।
शनिबार नख्खु कारागार स्थानान्तरण हुनुअघि आफूलाई राखिएको रुपन्देही कारागारको भित्तामा उनले त्यस्तो लेखेका हुन् । लामिछानेले त्यसबारे काठमाण्डू उड्नुअघि भैरहवा विमानस्थलमा रास्वपा वरिष्ठ उपाध्यक्ष स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भित्तामा लेखेको सन्देशबारे बताएका थिए ।
‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु । अब यहाँ कृष्णहरू जन्मिने छैन’, लामिछानेलाई उद्धृत गर्दै झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर, जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ ।’ झाका अनुसार लामिछानेले राजनीतिक प्रतिशोध राखेर आफूलाई मंगलग्रहमै लगिए पनि नडराउने बताए । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन । यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन’, लामिछानेको भनाइ भन्दै झाले लेखेका छन् ।