बहादुर पक्षले भन्यो, ‘सभापति शेरबहादुरबाट नै धोका भयो’

काठमाण्डु टुडे २०८२ साउन ३० गते १८:३१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवाबाटै धोका भएको तर्क गरेको छ । संसदीय दलको नेतामा विश्वासको मत गुमाएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीलाई सपथ गराउने पूर्वसहमति कार्यान्वयन हुन नसकेको भन्दै लामा पक्षले असन्तुष्टि जनाएको हो ।

मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा लामा पक्षका व्यक्तिबाट मन्त्री बनाएनन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित आठ र एमालेबाट ६ जना मन्त्री छन् । एमालेबाट ६ र कांग्रेसबाट दुई जनालाई मुख्यमन्त्री बानियाँले २७ साउनमा मन्त्री बनाएका थिए । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्रको अर्को पक्षका १४ सांसद मध्ये कुनैलाई पनि मन्त्री बनाएनन् ।

मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका छन् ।

पार्टी सभापतिसँग गरेको सम्झौता देउवाले कार्यान्वयन गराउन नसकेको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी दिए । लम्सालले भने, ‘सभापति शेरबहादुर दाइसँग हामीले गरेको सहमति उल्लंघन भयो। विश्वासमा सभापतिबाट नै धोका भयो । कार्यान्वयन गराउनुभएन।’ लामा पक्षका नेताहरुका अनुसार उनले मन्त्रीमा नियुक्त गरेका तर सपथ गराउन नपाएका तीन जनालाई मन्त्रिपरिषद् विस्तार गर्दा समेट्ने सहमति बनेको थियो ।

त्यही सहमतिको आधारमा २७ साउनमा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी दिएका छन । गत १४ साउनमा तत्कालीन मुख्यमन्त्री बहादुर सिंहले लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेपनि जिम्मेवारी भने तोकिएको थिएन । संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीबाट बाहिरिएका लामासँग मुख्यमन्त्री बानियाँको यही विषयले विवाद देखिएको थियो ।

उनले नियुक्त गरेकनेताा तीन जनालाई नवगठित मन्त्रिपरिषद्मा सहभागी नगराउने भए विश्वासको मत नदिने अडानमा लामा पक्ष थियो। दुई पक्षको विवाद केन्द्रसम्म आइपुगेको थियो। दुई पक्षका नेताहरुको संवाद सभापति देउवा सहित शीर्ष तहसँग भएको थियो । विश्वासको मत प्रदान गर्ने दिनसम्म समेत लामा पक्षले आफ्नो माग राख्दै काठमाण्डूमा बैठक बसिरहेको थियो ।

अपरान्ह ४ बजेका लागि तोकिएको विश्वासको मत लिने समय समेत लामा पक्षधर पुग्न ढिलो भएको हुँदा समयमा सुरु हुन सकेको थिएन । लामाले नियुक्त गरेका तीन जनालाई मन्त्री बनाउनुपर्ने माग सभापति देउवाले कार्यान्वयन हुने प्रतिवद्धता जनाएपछि आफूहरु विश्वासको मत दिन हेटौंडा गएको लम्सालले जानकारी दिएका छन ।

‘तिमीहरुको माग पूरा हुन्छ । मतदान गर्न जाउ भनेर सभापतिले भन्नुभयो,’ लामा पक्षका सांसद लम्सालले भने,‘ उहाँले त्यसो भनेपछि हामी स्वीकार्यौँ । विश्वासको मत दिन गयौं ।’ लामा पक्ष विश्वासको मत दिन तयार भएपनि मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको थियो । प्रस्तावको विपक्षमा २२ र तटस्थमा ७ मत पर्‍यो ।

बागमती प्रदेश सभामा ११० सदस्य छन् । असन्तुष्ट पक्षले मन्त्रिपरिषद विस्तार गर्दा आ–आफ्नो समूहसँग कुनै सरसल्लाह नभएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us