विशेष अदालतको ‘सेट’ नै फेरबदल, नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

काठमाण्डु टुडे २०८२ साउन ३० गते १८:०१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस भएको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था रहेको छ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई विशेष अदालतको सदस्यमा सिफारिस गरेको हो ।

उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोक्ने न्यायपरिषद्ले परामर्श दिएको हो । हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।

विशेष अदालतका सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरामा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलासमा, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा, रितेन्द्र थापा उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा भएका हुन् ।

विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो । दुई वर्ष एक ठाँउमा बसेका न्यायाधीशहरूको सरुवा गर्ने अभ्यास अनुसार न्यायपरिषदले न्यायाधीशहरू सरुवा गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us