कानुनी संवादको बाटोबाट समस्या समाधान हुनुपर्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ साउन ३० गते १७:३१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्ने बताएका छन ।

आज (शुक्रबार) मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार महासंघ मधेश प्रदेशको जग्गा कब्जा गर्न खोज्दा उत्पन्न विवाद प्रसंगलाई लक्षित गर्दै यस्तो तर्क गरेका हुन ।

उनले भने ‘कानुन संवादबाट हुने कुरा जोर–जबरजस्ती गर्न खोज्ने काम हुनु हुँदैन।’ उनले विगतमा देखिएका यस्ता गतिविधि न दोहोर्‍याउन आग्रह गरे । २१ करोडमा सम्पन्न भवन निर्माणमा सहयोग पुर्‍याएको मधेश प्रदेश सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई ‘जनतालाई प्रारम्भिक सेवा र न्याय दिने’ संस्था बनाउने विश्वास व्यक्त गरे ।

उनले सुशासनका दुई पाटा–भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेमा सरकार कटिबद्ध रहेको पनि बताएका छन । मधेशमा अन्य प्रदेशको तुलनामा बढी मात्रामा लागूऔषध (ड्रग्स) भित्रिने र बालबालिका तथा युवाहरू कुलतमा फस्ने अवस्था गम्भीर भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले राजस्व उठ्नुपर्ने तर उठिरहेको छैन भन्ने समस्यामा धेरै छिद्र रहेको उल्लेख गर्दै खास लागूऔषध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने र खुला सिमानाको नाजायज फाइदा उठाउनेहरूलाई रोक्नुपर्ने पनि बताए ।

मधेशमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने गतिविधि भइरहेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन । राजनीतिक प्रसंगमा उनले संघर्षबाट आएका नेताहरूको देशप्रतिको योगदान र माया हुने तर ‘नयाँ शक्ति, भवितव्यंले खुलेका पार्टी’ का नेताहरूको योगदान शून्य रहेको टिप्पणी गरे। ‘जसको आफ्नो योगदान छैन, ऊ सदनमा आएर भत्ता पकाउने मात्र गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us