नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी

काठमाण्डु टुडे २०८२ साउन ३० गते १४:२१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएको पनि प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टाम गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us