डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ३० गते १३:४५ मा प्रकाशित

काठमाण्डू, ३० साउन– डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिएका छन ।

डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. चालिसेका अनुसार अस्पताल आउँदा नै उनको अवस्था जटिल रहेको थियो । यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो ।

यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us