म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ साउन ३० गते १२:१७ मा प्रकाशित

काठमाण्डू, ३० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन । आज (शुक्रबार) डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको पनि बताएका छन । ओलीले भने, ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ ।

म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।’ तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले बताए । उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने पनि बताएका छन । उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो।

मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘त्यसैले आकर्षणको केन्द्र भयो। यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ ।’ उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ’ उनले भने ।

उनले आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आईसीटी र एआई अघि बढाउने नीति सरकारले मन्त्रिपिषदबाट पास गरिसके समेत बताएका छन । उनले भने, ‘म टेक्निकल क्षेत्रको मान्छे हैन, एआईको पनि हैन तर, कसरी आईसीटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।’

संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले एआईसँग मान्छे डराएको देख्छु। तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us