पर्यटन विभागका तत्कालीन निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८२ साउन २९ गते १७:३७ मा प्रकाशित

काठमाण्डू, २९ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

०६६ साल जेठ २४ गतेदेखि ०७९ साल साउन २९ गतेसम्मको अवधिमा यादवले विभिन्न शीर्षकबाट रू. २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखिएको छ।

यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा शेयर बिक्रीबाट प्राप्त रकमसमेत समावेश रहेको अख्तियारले जनाएको छ । तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, जीवन बीमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा रू. ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको छ।

यसरी करिब रू. ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नभएकाले यादवले पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएकाले सोही बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन ।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ। साथै गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएकाले उनीविरुद्ध पनि सम्पत्ति जफतको प्रयोजनार्थ आरोपपत्र दायर गरिएको पौडेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us