काठमाण्डू, २९ साउन– एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिएको हो ।
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो । यस वर्ष झन्डै एक महिना अगाडि सम्झौता भएकाले वर्षभरि गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिएका छन ।
समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।