रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली लगाइयो

काठमाण्डु टुडे २०८२ साउन २९ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, २९ साउन– कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको बारे जानकारी गराएको छ ।

कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना मार्फत जानकारी गराएको हो ।

लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले जानकारी दिएका छन ।

रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागारले भनेको छ ।

साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ । ‘उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ ।

निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागारले जारी गरेको सूचनामा उल्लेख छ । २५० जना बन्दी क्षमताको रुपन्देही कारागारमा हाल ६४० कैदीबन्दी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us