कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, सुरक्षाकर्मीलाई समेत प्रवेशमा रोक

काठमाण्डु टुडे २०८२ साउन २४ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, २४ साउन– कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा आएको छ । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका हुन ।

अहिले स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतले जानकारी दिएको छ । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् ।

कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी समेत दिएका छन । सुरक्ष स्रोतले भन्यो, ‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो रु भन्न यकिन भएको छैन् ।’

१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए । कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा जानकारी नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us