काठमाण्डू, २४ साउन– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही पूर्वतर्फ जाँदै गरेका साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो । चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ । घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन् ।
अवरोधका कारण सयौँ सवारीसाधन सडकमा थन्किएका छन् र हजारौँ यात्रुबिच बाटोमै अलपत्र परेका छन् ।