सञ्जीवनी मेडिकल कलेजविरुद्ध प्रहरीमा ठगीको जाहेरी

काठमाण्डु टुडे २०८२ साउन २३ गते १८:२४ मा प्रकाशित

काठमाण्डू, २३ साउन–स्याङ्जाका मेडिकल व्यवसायी खुमा आर्यलको मेडिकल कलेजविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । नेपालगञ्जमा रहेको अर्यालयको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको हो ।

बाँके प्रहरीका प्रवक्ता दीपक पातलीले जाहेरी आएको जानकारी दिएका छन । उनले भने, ‘सञ्जीवनी मेडिकलविरूद्ध जाहेरी परेको छ । दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं।’ यो मेडिकल कलेजको दर्ता प्रक्रिया नै वैधानिक नरहेको दाबी गरिएको छ ।

कानूनी प्रक्रिया पूरा नगरी मेडिकल कलेज सञ्चालन गरेर ठगी गरेका दाबी गर्दै उजुरी परेको प्रहरीले जानकारी दिएको छ । यो मेडिकल कलेजविरुद्ध करन बर्मा नाम गरेका बाँकेकै एक युवाले जाहेरी दिएका हुन् । यसअघि उनले दिएको जाहेरी प्रहरीदेखि सरकारी वकिलको कार्यालयसम्मले दर्ता गरेका थिए । त्यसपछि उनी अदालत पुगेका थिए ।

उच्च अदालतको तुलसीपुरको नेपालगञ्ज इजलासमा करनले बाँके प्रहरी, सरकारी वकिल, प्रमुख जिल्ला न्यायाधीवक्तासहितलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए ।

उक्त निवेदनको फैसला गर्दै न्यायाधीश चन्द्रबहादुर सारु र वसन्तराज पौडेलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउने निर्देशन दिएपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको हो । ठगीको जाहेरी दर्ता भए पनि रकम तथा बिगो भने खुलेको छैन । कलेजको वैधनिकतासँग जोडेर जाहेरी परेकाले बिगो दाबी गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us