दिल्लीका चार होटलबाट ६३ नेपाली महिलाको उद्धार, ४० जना आइपुगे काठमाण्डू

काठमाण्डु टुडे २०८२ साउन २३ गते १७:०७ मा प्रकाशित

काठमाण्डू, २३ साउन– घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्‍याइएका ४० नेपाली महिलालाई उद्दार गरेर काठमाण्डू ल्याइएको छ ।

रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पुर्‍याइएका ४० नेपाली महिलालाई उद्दार गरेर आज (शुक्रबार) काठमाण्डू फिर्ता ल्याइएको हो । दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इन्डियाको संयुक्त पहलमा ४० नेपाली महिलालाई उद्धार गरी काठमाण्डू ल्याइएको हो ।

उद्धार गरेर सुनौलीहुँदै स्थलमार्गबाट दिउँसो काठमाण्डू ल्याइएका उनीहरुलाई अहिले शक्ति समूहलगायतका संस्थामा राखिएको छ । सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा उद्दार गरेर ल्याइएका महिलाहरूलाई राखिएको छ । बुधबार राति दूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको रेस्क्यु गरिएको थियो ।

ती मध्ये एक महिलाको युरोपको भिसा लागेको समेत पाइएको थियो । बाँकी २२ महिला भने रोमानियालगायत युरोपका देशहरु जाने तयारीमा थिए । उनीहरू कागजी प्रक्रिया र भिसाका लागि भारत पुगेको बताइएको छ ।

उनीहरूलाई युरोप पठाउने मेनपावर कम्पनीका मान्छेले समेत दूतावाससँग समन्वय गरेर आफूहरू कानुनी रुपमा युरोप पठाउन लागेको बताएका थिए । त्यसपछि मेनपावरका प्रतिनिधि समेत दिल्ली पुगेर उनीहरूको जिम्मा लिएपछि २२ जनालाई भने उनीहरूको जिम्मा लगाइएको किन इन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिए ।

उद्दार गरेर काठमाण्डू फिर्ता ल्याइएका ४० महिलाहरू भने कुवेत, साउदी, ओमान, दुबईलगायतका देश जाने तयारीमा थिए । ती देशहरूमा घरेलु कामदारको रुपमा महिला जान पाउँदैनन् ।

नेपालको विमानस्थल प्रयोग गरेर जाँदा अध्यागमनबाटै फिर्ता हुनसक्ने भयका कारण उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us