काठमाण्डू, ९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको कारणबारे प्रश्न उठाएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद विनिता कठायतले यस्तो प्रश्न गरेकी हुन् ।
उनले भनेकी छन, ‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौं भन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारण चाहिँ के रहेछ ?’ ‘सुन्दैछौं अहिले केही आसेपासेहरूलाई निजामती सेवा छोड्नासाथ राज्यका अंगहरूमा नियुक्ति गरेर शक्ति सन्तुलन बिगार्न कुलिङ पिरियड नराख्ने भनिएको छ । यसमा होस पुर्याइयोस् जनताले नजिकबाट हेरिरहेका छन् ।’
राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै एमालेका सांसदहरूले प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान रहेको दफा नै झिक्नुपर्ने प्रस्ताव राखेका छन् । यसतर्फ संकेत गर्दै रास्वपाकी सांसद कठायतले प्रश्न गरेकी हुन् ।